spot_img

खुवालुङ हेरेपछि

काठमाडौंको मण्डला थिएटरमा चलिरहेको नाटक ‘खुवालुङ’ बारे मिडियाहरुमा प्रशस्त समाचार, टिप्पणी र लेखहरु आइरहेका छन् । साथी विश्व हाङ राइको सल्लाह अनुसार भाद्र ११ गते म, छोरी गिनिज र छोरा नोबेल सहित काठमाडौंका लागि बेलुकी ५ बजेदेखिको अन्तिम शो हेर्न मण्डला थिएटर पुग्यौं । नाटक खुवालुङले किराँतहरुको संस्कृति संरक्षणमा योगदान पु¥याएको महशुस भयो ।

किराँत संस्कृति पनि हामी नेपालीहरुको संस्कृति नै हो । जातीयता र सामुदायिकताको घेरा भन्दामाथि उठेर त्यो पनि हाम्रै सांस्कृतिक सम्पदा हो भन्ने बुझ्नु पर्दछ । किराँत हाङसाम साम्यो पान्जुम्भो नामक संस्थाले २०७४ साल पौष १ र २ गते इलामको चुलाचुली–४ शनिबारेमा “किराँत विशेष सा।स्कृतिक साहित्यिक र मनोरञ्जनात्मक कार्यक्रम” आयोजना गरेको थियो । त्यो कार्यक्रमको उद्घाटन गर्नका लागि मलाई आशिष जवेगु, हर्क लिम्बु लगायतका साथीहरुले आमन्त्रण गर्नु भएको थियो ।

सुरेन्द्र भण्डारी, ब्रत राई सहित हामी त्यस कार्यक्रममा पुगेका थियौं । जनजाति अधिकारका बारे मन्तव्य बाहेक विभिन्न साहित्यिक, सांस्कृतिक कार्यक्रम भएका थिए । किराँतका पूर्खाहरुको जीवन, प्रथम राजा यलम्बरको समय, किरात जातिको विकास, भेषभुषा, फिरन्ते शिकारी जीवन हुँदै खेतीपाती तर्फको जीवन, किराँती समाजमा प्रेम, सद्भाव आदिलाई कलात्मक ढंगले प्रहशन गरिएको थियो । यसपाली खुवालुङ हेर्दा मलाई इलाम चुलाचुलीमा प्रदर्शन गरिएको कार्यक्रमसँग मिल्दोजुल्दो नै लाग्यो ।

ती दुवैको समानता के हो भने त्यो कार्यक्रम समग्र किराँती जातिको इतिहाससित जोडिएको थियो भने यो खुवालुङ पनि किराँती जातिको इतिहास सित नै जोडिएको छ । फरक के हो भने यसको कथा खुवालुङगमा केन्द्रित भएको छ । ती दुवै कार्यक्रमको समानता यो हो कि ती दुवैलाई व्यावसायीकरुप दिइएको छ । ‘खुवा’ को अर्थ किराँती भाषामा खोला वा नदीको पानी हो भने ‘लुङ’ को अर्थ ढुंगा हो ।

दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलासयमा विशाल ढुंगा छ । त्यो ढुंगा नै समग्र किराँती जातिहरुको धार्मिक, सांस्कृतिक आस्थाको केन्द्र हो । कतिपयले खुवालुङ भन्नाले केवल सप्तकोशीको त्रिवेणीको विशाल ढुंगा मात्र नभएर त्यस वरपरको समग्र क्षेत्रलाई बुझाउँछ भन्ने मत पनि राख्दछन् । जे भए पनि खुवालुङ समग्र किराँती जातिका आस्थाको केन्द्र हो ।

अहिले पनि कोशीको किनारमा माछा मार्ने, बंगुर पालन गर्ने सामान्य कृषि कर्मबाट जीवन चलाउने जातिहरु छन् । तिनै जातिका लोग्ने श्रीमती बीचको वार्तालाप, ठट्टा, हाँस्यरस सँगै नाटक प्रारम्भ हुन्छ । कुरा गर्दै जाँदा उनीहरुले आफ्नो पुर्खाको कहानी सम्झन्छन् र कथा भन्न थाल्छन् अनि खुवालुङको कथा अगाडि बढ्छ । आदिमकालमा खुवालुङ वरपर किराँतका पुर्खाहरु घुमन्ते जीवन बिताउँथे । घुमन्ते जीवनकै बेलामा उनीहरुले जंगल फडानी गरेर अन्न फलाउन थाले । खाँवो गाडेर, बास बस्ने, टाउको ओत्ने बुकुराहरु बनाए ।

त्यहाँ बस्दा आप्mना पुर्खा र प्रकृतिको पुजा गरे । खुवालुङ वरपर आफ्नो संस्कृति, धर्म र परम्पराको जग बसाले । प्रेम र विवाहलाई मर्यादित बनाउने संस्कारको विकास गरे । खोरिया माथि आँखा लगाउने शत्रुलाई सबै मिलेर परास्त गरे ।
नाटकमा हाँसो र प्रेमको कहानी मात्र छैन । युद्धको कथा पनि जोडिएको छ । आफू र आफ्नो क्षेत्र (खोरिया) कब्जा गर्न आएको शत्रुलाई परास्त गरिसकेपछि आफैसित मिलाएर राखेको कहानी नाटकमा जोडिएको छ ।

नाटककी नायिका भनिन्छ, “शत्रुलार्ई पनि मिलाएर राख्ने विशाल हृदय छ हाम्रो ।” एकपटक ठूलो अनिष्ट भयो । रोग व्याधी फैलिएर धेरैको मृत्यु भयो । खडेरी भयो । राम्रोसँग उत्पादन भएन । अनिकाल प¥यो । जीवन गुजारा चलाउन त्यही खुवालुङ पुजा गरेर, त्यसैलाई साक्षी राखेर अरुण, तमोर र दुधकोशीको किनारै किनारै माथि पहाडतिर उक्लिएर बेग्लाबेग्लै ठाउँमा बस्ती बसाएर जीवन चलाउँला भनेर उनीहरुले सल्लाह गर्दछन् ।

जब उनीहरु छुटिन्छन् । कैयौं मानिसहरु कोशी तर्दा कोशी मै डुबेर मर्छन । कान्छा भाइ नदी तर्न नसकेर त्यतै छोडिन्छ । “भाइ त त्यतै बसी गरी खा” भन्दै छुटिन्छन् । त्यो विछोडको दृश्यले साँच्चिनै दुर्शकहरुलाई भावुक बनाउँछ, रुवाउँछ । खुवालुङलाई साक्षी राखेर छुटेका र बेग्लाबेग्लै नदीको धार समाएर हिंडेका फरक फरक समूहहरु कालान्तरमा राई, लिम्बु, सुनुवार, धिमाल फरक फरक जातिमा रुपान्तरण भए । फरक फरक संस्कृतिको पनि विकास गर्दै गए । जति फरक भए पनि सभ्यताको उद्गम एउटै हो भन्ने सन्देश यस नाटकले दिएको छ ।

यो नाटक हेरेपछि मलार्ई लाग्यो कि मानव सभ्यताको विकास समुन्द्रको किनार र नदीको किनारबाटै भएको छ । गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थल रिडी, झिमु्रक र माडीको संगमस्थल ऐरावती, पश्चिम सेती, महाकाली, कर्णाली सबै नदी किनारहरुमा मानिसको सभ्यता, इतिहास र मिथकहरु जोडिएका छन् । खुवालुङ नाटकले अन्य क्षेत्र र जाति÷समुदायका त्यसप्रकारका मिथकहरुलाई उधिन्न प्रेरित गरेको छ । समस्या त्यसमा लाग्ने कै हो । को लाग्ने, कसरी लाग्ने ?

मिथकहरु इतिहासका स्रोत हुन् । खुवालुङ पनि मिथक हो । मिथकहरु साहित्य सिर्जनाका स्रोतहरु पनि हुन् । प्यूठानमा झिमूू्रक र माडी दुई बहिनी हुन् । चेरीनेटीमा भेटेर सँगै जाउँला भनेको चीवे चराले फट्याइँ गरेर माडीसित झिम्रुक अगाडि नै गइसक्यो भनेपछि विरक्तिएर उनीहरु आ–आफ्नै बाटोमा हिंड्छन् । ऐरावतीमा गएर मात्र दुई बहिनीको भेट हुन्छ । चीबे चराको फट्याइँ÷झुठ प्रष्ट हुन्छ । माडीले चीवेको कुरा सुन्नु गल्ती भएको महशुस गरेर ठूलो हात्ती आकारको घोडा ९ढुंगा० मा चढाउँछिन् राप्ती बनेर सँगै बग्दछन् । यति मीठो मिथकलार्इृ एउटा राम्रो नाटककारको फेला पर्ने हो भने कति राम्रो नाटक बन्थ्यो होला रु यही मिथकलाई टिपेर साहित्यकार मोहनविक्रम सिंहले “झिम्रुक नदी र चिवे चरा” खण्डकाव्य लेखेका छन् ।

सिंहको खण्डकाव्य माक्र्सवादी (वर्गीय) दृष्टिकोणबाट लेखिएको छ । चिवे चरा जस्तै मानिसहरुमा फुट पार्ने फटाहाहरु समाजमा छन् भनिएको छ । खुवालुङ नाटक चाहिं वर्गीय दृष्टिकोणका आधारमा लेखिएको छैन । यो नाटक बहुसंस्कृतिवादमा आधारित छ । किराँत धर्म ग्रन्थ मुन्धुममा खुवालुङको महिमा छ । किराँत समुदायमा झाँक्रीहरु खुवालुङकै बखान गर्छन् । एक दिन साथी दीपेन्द्र राईको घरमा मैले उहाँकी फुपै सित खुवालुङ नाटकको कुरा गरें । नाटक नहेरे पनि फुपैलाई कथा सरसरी आउँदोरहेछ । फुपुले भन्नुभयो, “हामी राईहरु जुरेली चराको मासु खाँदैनौं नि बाबु ।

कोशी तरेर जान खोज्दा खुवालुङको ढोकै खुलेन हाम्रा पुर्खाको बहिनी कोशीमा डुबेर मरिन । जुरेली चराको भोग खुवालुङलाई दिएपछि बल्ल बाटो खुल्यो । जुरेली चराको रगत आफ्नै बहिनीको रगत जस्तै मानेर राईहरु खाँदैनन् ।” अहिले कोशी नदीमा उदयपुर, भोजपुर र धनकुटाको सिमाना त्रिवेणी भएर स्टिमर चलिरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ८ गते विराटनगरको एक कार्यक्रममा बोल्दै त्रिवेणीको ठूलो ढुंगा फोरेर सुनसरीको चतरादेखि भोजपुरसम्म ठूलो स्टिमर (जेट बोट) चलाउने भन्दै लामो भाषण गरे । त्यसपछि पूरै किराँत समुदाय खुवालुङ बचाउने अभियानमा उत्रियो । त्यही पृष्ठभूमिमा निर्माण भएको खुवालुङ नाटक अहिले पनि चर्चामा छ । राज्यपक्ष खुवालुङ बचाउने र ठूलो स्टीमर चलाउन परे पनि वैकल्पिक उपाय खोज्ने पक्षमा गएको छ ।

एक दिन मैले इतिहासका जानकार जहरसिंह राई सित भने –“किराँतहरु दुई हजार वर्ष भन्दा पहिले काठमाडौं खाल्डोमा थिए । वैशालीबाट आएका लिच्छिवीहरु काठमाडौं खाल्डोमा प्रवेश गरेपछि त्यहाँ लडाई झगडा भयो । केही किराँतहरु लिच्छवी सितै मिलेर बसे । किराँत र लिच्छवी मिसिएर नेवार बने । केही किराँतहरु काठमाडौं खाल्डो छाडेर पूर्वतिर गए । तिनै राइ बने । खुवालुङको कथा र काठमाडौंबाट विस्थापित किराँतको कथामा कुन पुरानो हो ।” राईले भन्नुभयो, “खुवालुङको कथा धेरै पुरानो हो नि १ त्यो आदिमकालीन कथा हो । खुवालुङबाट फैलिएर हिंड्ने क्रममा नै किराँतहरु पूर्वबाट काठमाडौं पसेका थिए । धेरै पछि मात्र लिच्छवीहरु आएपछि केही किराँतहरु फेरि पूर्वतिर आएका थिए ।” राइको कुरामा मलाई पनि चित्त बुझ्यो ।

सबै जातजाति र समुदायको संस्कृतिको संरक्षण र विकास भएमा नै नेपालको संस्कृति समृद्ध हुन्छ । त्यसैले पुराना संस्कृतिहरुको उत्खनन् गर्ने, तिनलाई वर्तमानको सन्दर्भसित जोड्ने, सकेसम्म तिनलाई प्रगतिशील रुप दिने, संस्कृतिलाई व्यावसायिक रुप दिनेतिर सरकार, सरकारका निकाय र सरोकारवालाहरुले ध्यान दिन जरुरी छ । नाटकमा कतिपय किराँत जातिका शब्दहरु प्रयोग गरिएकाले फरक जातिका दर्शकहरुलाई केही शब्द बुझ्न गाह्रो छ । लाइट, म्युजिक सबैको व्यवस्थापन र संयोजन राम्रो छ । धुन, कलाकारको स्वर रेकर्डेड नभई प्रत्यक्ष नै प्रस्तुत गर्दा पनि जुन किसिमको पर्फर्मेन्स देखियो, तारिफ योग्य छ । नाटक भनेपछि पर्दा खोल्नु पर्ने, बन्द गर्नुपर्ने, कलाकारको तयारी गर्दा ढिलो गर्ने यस्तै पुरानो मानसिकता ममा थियो । तर यहाँ अत्यन्त छोटो समय लाइटको अँध्यारोमा तुरुन्त नाटक अगाडि बढ्छ । पर्दा नै चाहिंदैन । झण्डै ५० जना कलाकारहरुलाई टेनिङ दिई स्टेजमा उतार्नु चानचुने काम हैन । अन्त्यमा आयोजक, सहयोगी संस्थाहरु, नाटकका लेखक राजन मुकारुङ, निर्देशक किरण चाम्लिङ राई र सबै कलाकारहरुलाई बधाई छ । यस क्षेत्रमा उहाँहरुको योगदान अझ थपिंदै जावस् शुभकामना !

हाक साप्ताहिक बाट साभार                                            राम बहादुर बुढाको लेख

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबर