spot_img

प्रदेश आयोगको गाडिद्वारा जेब्राक्रसमै पैदलयात्रीलाई ठक्कर

बुटवल, असोज १४। लुम्बिनी प्रदेश आयोगको गाडीले जेब्राक्रसमै पैदलयात्रीलाई ठक्कर दिएको छ। प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री सवार बा २ झ ३०८५ नं. को सरकारी गाडिले जेब्रा क्रसमै पैदलयात्रीलाई ठक्कर दिएको हो।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको क्षेत्री सवार उक्त गाडीले तिलोत्तमा नगरपालिका स्थित ड्राईभरटोलमा ट्राफिक लाईट समेत रातो बलेको अवस्थामा जेब्राक्रसबाट बाटो पार गरिरहेका स्थानीय छविलाल अधिकारीलाई ठक्कर दिएको हो। गाडीको ठक्करबाट आफ्नो खुट्टामा चोट लागेपनि उपाध्यक्ष क्षेत्रीले आँखा हेरर हिड्न सक्दैनस् भन्दै आफुलाई हकारेको अधिकारीले बताए।

‘पहिलो कुरा त म सिग्नल पाएपछि जेब्राक्रसमा हिँडेको थिए, दोश्रो उहाँको गाडीले ट्राफिक लाईटमा रातो बत्ती बलेको बेला आएर ठक्कर दिएको छ आफ्नै गल्तिमा पनि मलाई गाली गरेर हिड्नुभयो,’ घाईते अधिकारीले भने।

जिम्मेवार व्यक्ति चढेकै गाडीले ट्राफिक नियम मिचेर हिड्दा ठक्कर दिएपनि सामान्य मानविय व्यवहार समेत नदेखाई उल्टै गाली गरेर हिडेको उनले गुनासो गरे। ‘ठक्कर दिएपछि उठाउने र उपचार गर्ने कुरा त परै जाओस्, क्षेत्रीले उल्टै हकार्दै मलाई भैरहवा जान हतार छ भन्दै हिड्नुभयो, सामान्य मानविय ब्यवहार समेत देखाउनु भएन,’ अधिकारीले गुनासो गरे।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार क्षेत्री सवार गाडी सडक लेन मिचेर सबैभन्दा दायाँको लेनमा पुगेको थियो। सिधा लेनमा जानुपर्ने गाडीले लेन मिचेर आएको स्थानीयले बताए। उपाध्यक्ष क्षेत्रीले भने आफुले ठक्कर दिएर भागेको नभई बाटो पार गर्दा ध्यान दिएर हिड्न सम्झाएको बताए। ‘मैले त्यसो भनेको होईन, मलाई हतार छ उपचार गराउन भैरहवा जाउँ भनेको थिएँ, तर उहाँले भैरहवा जान्न भनेपछि त्यहिँका साथीहरुलाई जिम्मा लगाएर हिडेको हुँ,’ उनले भने।

प्रहरी चौकी ड्राईभरटोलका अनुसार घाईते अधिकारीको अहिले मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबर