spot_img

नेकपा (मसाल) नेतृत्वको राजनीति

बाबुराम आचार्य

नेकपा (मसाल) नेपाली बामपंथी क्रान्तिकारी आन्दोलनमा एउटा स्थापित राजनैतिक शक्ति हो । तत्कालिन नेपाली कम्युनिस्ट आन्दोलन कै मियो राजावादी कित्तामा समाहित हुन पुगेपछि करिब मृत्यु सैयामा पुगेको कम्युनिस्ट आन्दोलनलाइ पुनर्जीवन दिने कुरा आफैमा चुनौतीपूर्ण थियोे । त्यही चुनौतीपूर्ण अवस्थाबाट अगाडि बढेको पार्टी हो नेकपा (मसाल) र त्यसको नेतृत्व हुन मोहन बिक्रम सिंह । २०२८ न्युक्लश गठनपछि प्रायः जसो लगातार नेतृत्वमा रहदै आएका नेता हुन उनी । नेपाली कम्युनिस्ट राजनीतिमा एक चतुर ब्याख्याता र विश्लेशणात्मक चेतनामा उनी अब्बल पनि मानिन्छन् । तर उनै एउटा स्थापित पार्टीको नेतृत्वले अहिले करिब करिब बिसर्जनको यात्रा तय गरेका छन् ।

सामन्ती पृष्ठभूमिमा जन्मेका र हुर्केका ऊनी नेपाली काङ्ग्रेसको समाजवादबाट प्रभावित भएर सोही पार्टीबाट नै उनले सक्रिय राजनीतिक जीवनको शुरूवात गरेका थिए । त्यसो त केही वर्ष पहिला उनले एउटा राष्ट्रिय पत्रिकालाई अन्तरर्वार्ता दिदै भनेका थिए “मलाई सबैभन्दा बढी मनपर्ने नेता विश्वेश्वर प्रसाद कोइराला हुन ।” नेपालको समग्र कम्युनिस्ट आन्दोलनको जन्मकालदेखिनै अध्ययन गरेका र ७२ बर्से यो आन्दोलनमा ५८ वर्ष लगातार नेतृत्वमा रहेका मोहन विक्रमले किन कम्युनिष्ट आन्दोलनका अग्रज माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओलाई महान् नेता मान्न र सबैभन्दा बढी मन पराउन सकेनन् ? यो प्रश्नको जवाफ भावि समयले उनीसँग अवश्य भाग्ने छ । उपरि प्रकारले आफुलाई स्थापित बनाएका नेता मोहनविक्रम सिंह निकै चतुर मानिन्छन् पनि । उनी लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सामेल भएतापनि आफु कम्युनिस्ट हुन नसकेको र सामन्तको छोरा भएको कुरा आन्तरिक सर्कुलर जारी गरेर बताइसकेका छन् । आन्तरिक रुपमा आफु सामन्त रहेको बताएर पनि बाहिर उनले आडम्बरी क्रान्तिकारिता भने प्रदर्शन गर्न छाडेका छैनन् । त्यो उनको बठ्ठाइ हो । उनका हरेक लेख, रचना, अन्तर्वार्ता वा तर्कहरु कहिले पनि पार्टी हितहरु, वैधानिक प्रावधानहरुलाई केन्द्र भागमा राखेर प्रकाशन गर्ने गरिएका हँुदैनन् । पार्टी, क्रान्ति र परिवर्तनको जलपमा आफ्नानिहित स्वार्थहरु लुट्पुटाएर पेश गर्ने गरेका तमाम उदाहरणहरु छन् । अनुशासनको उल्लंघनमा पनि उनी कतिसम्म तल झर्न सक्छन ? भन्ने बारेमा प्रतिनिधि मुलक एउटा उदाहरणलाई लिन सकिन्छ । “मोहनविक्रमका अन्तर्वार्ताहरु” पुस्तकमा उनले भूमिगत पार्टीका नेताहरुको नाम सार्वजनिक गरिदिएका छन् । त्यस बाहेक उनले कसरी र कहाँ पार्टी अनुशासनको उल्लंघन गर्ने गरेका छन भन्ने बारे कमरेड विमल शर्माद्वारा हाँक साप्ताहिकमा विस्तृत रुपमा उल्लेख गरी १२ औ भाग सम्म प्रकाशित भैसकेको छ । आवेग, डाहा, ईष्र्या र सनकमा आएर आफ्नै समकक्षीहरुमाथि कसरी प्रहार गर्नु हुन्थ्यो त्यो जान्न निर्मल लामाको आत्मा कथा पढ्नुपर्छ । झुठो तर्क गर्नमा समेत उहाँ अब्बल हुनुहुन्छ भन्ने कुरा त २०७२ असोज ३० गते केन्द्रीय कमिटीको बैठकमा उहाँले “जनवादी क्रान्ति पूर्व नै चिनियाँ कम्युनिस्ट पार्टी कोमिन्ताङ्ग सरकारमा सामेल भएको थियो” भनेर पेश गरेको तर्कले नै पुष्टि गर्दछ । चारित्रिक मामिलामा पटकपटक कारबाहीमा परेको कुरा जगजाहेर छ ।

एउटा नेतृत्व मोहनविक्रम सिंह पार्टीभित्र जबर्जस्त प्रवृत्तिका रुपमा बिकास र स्थापित भएको छ जुन कुरा क्रान्तिकारी आन्दोलनको लागि घातक सावित हुँदै गइरहेको छ । यसरी हामीले दशकौंदेखि उनलाई भोगेर आएकोे हुनाले अनुभूति गरेका थियौं र छौं कि ऊनी कति तानाशाही, कति अधिनायकवादी र कति स्वच्छचारी भन्ने कुरा ।

त्यसो त बेलाबेलामा अन्य पार्टी नेतृत्वमा पनि उनका बारेमा र उनको प्रवृत्तिको बारेमा चर्चा चल्ने गर्दछ । नेकपा माओवादीको पालुङ्गटारमा आयोजित बैंठकमा प्रचण्डले चर्चा गर्दै भनेका थिए “मोहन विक्रम एउटा सामन्त र सामन्ती प्रवृत्ति बोकेका नेता हुन” भन्दै उनले थपेका थिए । अहिले हाम्रो पार्टीमा मोहनबिक्रम प्रवृत्ति ब्याप्त हुँदै गएको छ । तमाम घटनाहरू सार्वजनिक भय का र नभएका ती विषयहरुमा कम्युनिस्ट सैद्धान्तिक धरातलबाट हेर्ने बुझने छलफल गर्ने हो भने उहाँ कति प्रतिशत कम्युनिस्टमा पर्नु हुन्छ ? यसै भन्न सकिन्न ।

उतिबेलादेखि नै उहाँ चिनियाँ नेतृत्व र सोभियत नेतृत्वको उदाहरण दिएर आफ्नो नेतृत्व स्थापित गराउने ध्याउन्न्मा हुनुहुन्थ्यो । कार्यकर्ताले पार्टीका आन्तरिक छलफल, भेला वा प्रशिक्षणमा प्रश्न गर्दथे ’अब हाम्रो पार्टी के हुन्छ ? तपाईहरूको अनुपस्थितिमा के पार्टी जीवित रहन्छ ? यस्तो गम्भीर प्रश्नको बनिबनाउ उत्तर सहजै दिनुहुन्थ्यो “चिनियाँ र सोभियत नेतृत्व समाप्ति सङ्गै त्यहाँको पार्टी वा क्रान्तिकारी आन्दोलन नै कोल्याप्स भएर गए”, अरू पनि थुप्रै देशमा त्यस्तो अवस्था देखिएको छ, हामी कहाँ पनि त्यस्तो हुन सक्छ । यसरी आफ्नो शेख पछि पार्टी समाप्त हुने कुरा स्वीकार गर्दै हिड्ने र बैकल्पिक नेतृत्वका रुपमा बिकास गर्दै अगाडि बढेको पुस्तालाई उनले राजनीतिक सफाया गर्नुले पुष्टि गर्छ कि मोहन विक्रम प्रबृत्ति एउटा सामन्ती र बिसर्जनवादी प्रवृत्ति नै हो । यस्तो नेतृत्वलाई हामीले लगातार विश्वास गरेर अगाडि बढी रहेउ । विचारका अगाडि कयौं ठुलाठुला कमजोरीहरु गौण मान्दै आएउ । जब बिचारमा संशोधनवादको गन्ध आयो, संसदीय स्वार्थका आहालमा मन, बचन, कर्मले, सरकारी लाभका लागि डुबुल्की मार्न थालेको भेटिए बल्ल हामीले द्वन्द्वात्मक दृष्टिले हेर्न थालेँउ । आठौं महाधिवेशनद्वारा जब दक्षिणपन्थी कार्यदिशा संस्थागत गरियो त्यस यता हामीले उनलाई नेतृत्व मान्न पर्ने आधारहरु भत्किदै गए ।

मसाल नेतृत्व बाठो मात्रै होइनन् एक राजनीतिक फटाहा पनि हुन । एउटै घटनामा उनले दुइटा अर्थ लाग्ने अभिव्यक्ति दिन्छन् । प्रत्येक घटना विशेषलाई आफु अनुकूल ब्याख्या गर्नमा माहिर छन् उनी । उनैले आफ्नो नेतृत्वमा रहेका कार्यकर्ताको बेलाबेलामा हुर्मत लिदै भन्ने गर्छन् “हाम्रा कार्यकर्ताको चेतना निम्नस्तरको छ ।”

पार्टीको भौतिक सम्पत्तिको प्रयोग होस् या बौद्धिक सबै सम्पत्तिहरुमा आफ्नै मनमैजु चलाउन पाउनुपर्ने ढिपिलाई ऊनी कर्तव्य ठान्छन् । जुनकुनै सङ्गठनको भौतिक वा बौद्धिक सम्पत्ति पनि हुनसक्छन् तिनीहरुको समुचित ढंगबाट प्रयोग, सम्बद्र्धन र संरक्षण गर्नु पर्दछ । जसका लागि निश्चित कार्यबिधिका आधारमा ब्यबस्थापन गरिएको हुन्छ । तर मसाल नेतृत्वलाई ती सबै कुरा बेकार लाग्दछन् । पछिल्लो समयमा मसाल नेतृत्वले पार्टीका दस्तावेजहरु (जो नेतृत्वले तयार पार्छ र पछि त्यो दस्तावेज पार्टीले अनुमोदन वा स्वीकृत गर्छ) त्यस पछि त्यो दस्तावेज पार्टीको बौद्धिक सम्पत्ति बन्छ , लाई समेत नेतृत्वले आफ्नो निजीकरण गर्ने दुस्साहस गर्दैछन् । यसो गर्नु राजनीतिक फट्याइ नै हो ।

विभिन्न प्रशिक्षण, लेख, रचना आदिमा उनले भन्ने वा लेख्ने गरेका छन् कि “हाम्रो पार्टी का कार्यकर्ताहरुको निम्नस्तरको चेतना छ यसमा सुधार ल्याउनु पर्छ ।” कार्यकर्ताको हैसियत तौलेर बसेका तिनै नेतृत्वले अहिले पार्टी बिसर्जनको अभियान नै चलाएका छन् तर पनि कार्यकर्ताले पुर्णतया प्रतिकार गर्न सकिरहेका छैनन् । वास्तवमा कार्यकर्ताको लेबि उठाउने र उनीहरुको लेबिबाटनै तिनै कार्यकर्ताहरुलाई कारबाही गरेको वक्तव्य प्रकाशन गर्ने गरेका छन् तर कार्यकर्ताले त्यसको ब्यापक प्रतिकार गर्न सकिरहेका छैनन् ।

मसाल नेतृत्वले भन्छ “राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी छैन ।” तर उसले भागबन्डा अनुसारको लाभांश प्राप्त गरेकै छ । भूमि आयोगका अध्यक्ष एवम् विभिन्न जिल्लामा सदस्यहरुको नियुक्ति । शिक्षा उपसमिति, खेलकँुद समिति प्रदेश स्तरीय नियुक्तिहरु । मसाल नेतृत्व भन्छ “पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरियो तर सरकारलाई दिएको हाम्रो समर्थन कायमै छ”

आज मसाल नेतृत्व पतनको कुन दिशामा पुगेको छ ? कार्यकर्तालाई कुनै चासो छैन किनकि तिनीहरुको चेतना निम्नस्तरको छ? (नेतृत्वले भन्ने गरेको जस्तो)।

नेकपा मसालको मुल नेतृत्वले प्राबिधिक रुपमा आफ्नो पक्षमा लिएको आठौं महाधिवेशनले पार्टीलाई संशोधनवादमा रुपान्तरण गरे तापनि उसले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिमा विश्वास राखेको र त्यो कार्य पुरा गर्न कम्युनिस्ट पार्टीको नेतृत्वको अनिवार्यतालाई स्वीकार गरेको बताउँदै आएको छ, तर सिद्धान्ततः त्यो कुरालाई स्वीकार गरे पनि व्यबहारमा एउटा सशक्त कम्युनिस्ट पार्टी निर्माणको उपेक्षा गर्दै नेपाली काङ्ग्रेस जस्तो वर्गदुश्मनसँग सहकार्यमा लिप्त हुन पुगेको छ (मसाल) नेतृत्व ।

बिगत करिब डेढ दशकयता पार्टीले मसालको नाममा चलाएका आन्दोलनहरु सामान्य पुँजीवादी वा जनतान्त्रिक आन्दोलनका रुपमा गिराउँदै लगेको छ । अहिलेसम्म आउँदा हाम्रो पार्टीका क्रियाकलापहरु कुनै एउटा पुँजीवादी पार्टी जस्तै कि एमाले वा माओवादी भन्दा भिन्नै प्रकारको होईन कि तिनीहरु जस्तै चुनाव केन्द्रित, लाभ हानी केन्द्रित वा भागवण्डा केन्द्रित बनाउँदै लगिएको छ ।

जसका कारण आज सातौं महाधिवेशन पुर्वको हाम्रो पार्टीको साङ्गाठानिक आकार एवम क्रान्तिकारी स्पीरिट र राजनीतिक चरित्रमा गिरावट आएको छ । एउटा पुँजीवादी राजनीतिक पार्टीले जस्तै सामान्य सुधारवादी आन्दोलनमा केन्द्रीकृत हुँदै जाँदा हाम्रो पार्टीको पुरानो विरासत स्खलित हँुदै गएको छ र क्रान्तिकारीस्तर सामान्य प्रजातन्त्रवादीहरुको भन्दामाथि जान नसक्ने गरी दबिन पुगेको छ । हाम्रो देशको कम्युनिस्ट पार्टीभित्र लामो समयदेखि अधिक मात्रामा देखा पर्दै आएको समस्या पनि यही हो ।

कम्युनिस्ट घोषणा पत्रमा भनिएको छ “कम्युनिस्टहरू तात्कालका उद्देश्यहरु पुरा गर्नको लागि र मिहेनतकश जनताका तात्कालिक हितहरुको पुर्तिका लागि लड्छन् । तैपनि वर्तमानका आन्दोलनहरुमा उनीहरुले आन्दोलनको भविष्यको पनि प्रतिनिधित्व र ख्याल गर्दछन ।” वास्तवमा आज मसाल नेतृत्वले त्यस प्रकारको भविष्ण्यको “प्रतिनिधित्व”बाट आफुलाई अलग गर्दै लगेर तात्कालिक संघर्ष र सुधारवादलाई अंगाल्दै छ र “तात्कालिक उद्देश्य र मिहेनतकश जनताका हितहरु”लाई छोडदै गएर केवल कोरा “क्रान्तिकारी” लफ्फाजिमा रुपान्तरण हँुदै गएको छ ।

तै पनि निम्नस्तरको राजनीतिक चेतना बोकेको एउटा झुन्डले पार्टीलाई सच्चाउने तर्फ कुनै चासो नै देखाउँदैन ।

चुनावसम्म गठबन्धन कायम राख्नुपर्नेमा जोड दिंदै (मसाल) नेतृत्वले भन्छ “स्थानीय तहमा भएको अर्घाखाँचीको पाँच दलीय गठबन्धनलाई स्वागत “आज यसरी नेतृत्वले राजनीतिक फटट्याइ गरेको छ । र पनि धेरै सोझा साझा (मोहन बिक्रमको शब्द सापटी लिंदा निम्नस्तरको राजनीतिक चेतना) कार्यकर्ताले पत्तै पाएका छैनन् । (मसाल) को मुल नेतृत्वले गत चुनावमा कांग्रेसलाई गणतन्त्र विरोधी, धर्मनिरपेक्षताको विरोधी तथा राष्ट्रघाती शक्ति भनेर उसको बिरुद्घमा एमाले सँग चुनाबी गठबन्धन ग¥यो । एमाले कै आडलागेर सरकारको रस चुस्ने प्रयत्न ग¥यो । एमालेको दलालीमा नै आधा जनवाद आउँछ जसरी ओलीको आँगन चाहार्नुलाई क्रान्तिप्रतिको बलिदानी ठान्यो । देशभरीका कैयौं निर्वाचन क्षेत्रहरुलाई सहिद बनायो । महाकाली सन्धि लगायतका कयौं राष्ट्रघाती सन्धिको नेतृत्वकर्ता ओली र प्रचण्ड सम्मिलित नेकपालाई मित्र शक्ति करार ग¥यो । जसको परिणाम प्युठानमा एक सिटमा सफलता प्राप्त भयो । अहिले फेरि त्यही कांग्रेस जसलाई आठौं महाधिवेशनले प्रतिक्रियावादी शक्ति वा क्रान्तिको मुख्य शत्रु घोषणा गरेको छ । त्यसैलाई र त्यो भित्र पनि निकै खुंखार कम्युनिस्ट विरोधी छविका नेता रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनमा समन्वय समितिको सदस्य बने कम्युनिस्ट धरोहर चित्र बहादुर केसी ! । उसैको नेतृत्वको सरकारले एम.सीड्डसीड्ड सम्झौता पास गरेको छ । कांङ्ग्रेसको बिगतबारे धेरै बताइरहन पर्दैन ।

टनकपुर, गण्डकी, अपरकर्णाली, महाकाली, लिपुलेक जस्ता कयौं राष्ट्रघाती जनविरोधी कामहरु गर्दै आएको तथा प्रजातन्त्र लगेर दरबारमा बुझाएर ज्ञानेन्द्रको “कु” मा सिनियर पार्टनर समेत बनेको देउवा कांग्रेसलाई सरकार बनाउन समर्थन गर्दै सर्वोच्चमा लाइन लाउन जाने मसाल नेतृत्व । गण्डकीमा कांङ्ग्रेस सरकार बनाउन नमानेको भनेर आफ्नै सांसदलाई कारबाही गर्ने मसाल नेतृत्व । एउटा प्रतिक्रियावादी राजनीतिक शक्ति सँग साँठगाँठ, गठबन्धन, चुनावी मोर्चा ! पटकपटक सरकारको समर्थन कायम ! एउटा महाधिवेशनले वामपन्थी शक्ति अर्को महाधिवेशन नहँुदै उस्तै परिस्थितिमा उही शक्तिलाई प्रतिगामी भनेर स्वब्याख्या ! गजबको मसाल नेतृत्व । मोहन बिक्रमको शब्द सापटी लिएर भन्दा “निम्नस्तरको राजनीतिक चेतना भएका, केही उग्र चिन्तकहरुका अनुसार निरिह कार्यकर्ताहरु !” खासमा सोझासाझा कार्यकर्ताहरुले कसरी चित्त बुझाएका होलान् ? तैपनि नेतृत्पको कार्यशैलीको विरुद्धमा चुइक्क नबोल्नु यान्त्रिक अनुशासनले काम गरेको हुनुपर्छ । जो सोझो कार्यकर्ताले सोझै सोचेको हुन्छ । (जस्तो कि नेपाली उखान –लाटै लाट बाटै बाट ) । तर अनुशासन एउटा सिक्काको दुइटा पाटो हुन्छ भने त्यस मध्ये को एउटा पाटो हो । जसमा एक भाग अनुशासन हो भने अर्कोपट्टीको भाग क्रान्तिकारी राजनीति हो । जब क्रान्तिकारी राजनीतिले हावा खान्छ तब अनुशासनको अस्तित्व समाप्त हुन्छ । जसरी दुई भाग बिनाको एउटै सिक्काको कल्पना नै गर्न सक्दैनौ । के यति सामान्य राजनीतिक कुरा पनि नबुझेका होलान ? सोझा कार्यकर्ताले । त्यत्ति मात्र होइन आगामी निर्वाचनमा प्युठान बाहेक देशभरिका आफ्ना कार्यकर्तालाई रुखमा भोट हाल्न निर्देशन दिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । मसाल नेतृत्वको बैचारिक स्खलनको मेसो धेरै सोझा साझा कार्यकर्ताले पाएकै छैनन् । जब मेसो पाउनेछन् उनीहरुको लागि बाँकी केही रहने छाँटकाँट देखिदैन ।

यसप्रकारको अवसरवादी राजनीतिलाइनमा डुबुल्की मार्न पुगेको बाठो नेतृत्वको छलकारी, कपटपूर्ण कार्यलाई अहिले तिन प्रकारका नजरले हेरिएको छ । प्रथम, नेतृत्वको जयजयकार गरेर लिन सकिने नीजि लाभकारी नजरिया । दोस्रो, नेतृत्वले विसर्जनकारी बाटो लिएको छ तर त्यसको प्रतिकार गरेर सृजनातत्मकताको भारी बोक्ने कष्ट किन उठाउनु ? होस् बरु चुपचाप बसु भन्ने नजरिया र तेस्रो, हो वास्तविक सोझा, इमान्दार र निष्ठावान नजरिया । यी तेस्रो नजरिया जुन छ त्यो सोझा कार्यकर्ताको पंक्ति हो त्यो पंक्तिले जब वास्तविकता बुझ्ने छ तब बाठो नेतृत्वको चुल्हो निभ्ने छ । हामी अहिले लाटा कार्यकर्ता बाठो बनौं यत्ति कामना गर्न सक्छौ ।

(हाँक साप्ताहिक)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबर